काठमाडौं– जापानबाट आइतबार करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्ने भएको छ। जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप शनिबार काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले बताए।
आइतबार (आज) थप दुई लाख ८७ हजार डाेज खोप आउने उनले जानकारी दिए। शनिबार र आइतबार गरी आठ लाख खोप आइपुग्ने बताउँदै उनले बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने जानकारी दिए।
अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बिताए।
खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने उनको भनाइ छ। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र सुुरु हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।