काठमाडौं- कोभ्याक्स सुविधामार्फत् भुटान र जापान सरकारबाट प्राप्त एस्ट्राजेनिकाको कोरानाविरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्राको प्रतिक्षामा रहेका व्यक्तिहरूलाई दिइने भएको छ।
स्वास्थ्य सेवा विभागले शनिबार एक विज्ञप्ति जारी गर्दै शुक्रबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयानुसार दोस्रो मात्राको प्रतिक्षामा रहेका व्यक्तिहरूलाई एस्ट्राजेनिकाको खोप दिइन लागेको जानकारी दिएको हो।
भारतले सम्झौता अनुसार कोभिशिल्ड खोप नपठाउँदा ६५ वर्ष र सोभन्दा माथिका तथा अन्यसहित करिब १४ लाख व्यक्तिहरुले दोस्रो मात्रा लगाउन पाएका छैनन्। उनीहरुलाई सोमबारदेखि खोप दिइने विभागले जनाएको छ।
यस्तै, बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति तथा मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका विरामी लगायतका व्यक्तिहरूलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी लगाइने विभागले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।