काठमाडौं- काठमाडौंका स्थानीयबासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
शनिबार काठमाडौं महानगरपालिका–१० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकी रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
हिजो (शुक्रबार)बाट सुरु भएको खोप काठमाडौं महानगरपालिका ३२ वटै वडाको १/१ स्थानबाट दिने व्यवस्था गरिएको छ। तर, दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकी सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गरे।
‘धेरै बाँकी छन्। भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरु। एउटा वडामा ३ वटा ठाउँ तोकी सबैले खोप लगाउने पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो। खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद’, उनले भने।
यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दाबी गरेको छ। कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताए। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाइन नबसी खोप लगाउने व्यवस्था गरिएको उनको दाबी छ।
वडाध्यक्ष केसीले भने, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाइन नबसी खोप लगाउने व्यवस्था गरिएको छ।’
काठमाडौं महानगरपालिकाले आइतबारसम्म यो खोप लगाउने व्यवस्था गरेको छ। तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।