प्रतिकात्मक तस्वीर
काठमाडौं– कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि दोस्रो डोजका रुपमा एस्ट्राजेनेका खोप लगाइने भएको छ।
कोभिसिल्ड खोपको पहिलो डोज लगाएका झण्डै १३ लाख ५० हजार नागरिकलाई सरकारले दोस्रो डोजको रुपमा जापान र भुटानले उपलब्ध गराएको एस्टाजेनेका खोप लगाउने तयारी गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्डको पहिलो डोज लगाएकालाई साउन २५ गतेदेखि एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए।
उनले भने,‘आज (शुक्रबार)देखि भेरोसेलको दोस्रो मात्रा खोप लगाउने कार्यक्रम चलिरहेको छ। यो सकिनेबित्तिकै हामी कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गर्छौं।’
उनले खोप आपूर्ति भएसँगै उपत्यका भने कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिहाल्ने र थप खोप प्राप्त भएपछि प्रदेशमा पनि सुरु गरिने बताए।
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतबाट खरिदको खोप उपलब्ध नभएपछि उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउँदै छ। जसमध्ये शनिबार र आइतबार दुई चरणमा ४/४ लाख डोज खोप नेपाल आउँदै छ। बाँकी ८ लाख डोज खोप १० दिन पछि आउने बताइएको छ।
भुटानले दिएको ३ लाख डोज एस्ट्राजेनेका खोप शुक्रबारै नेपाल आइसकेको छ।
स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्यांक अनुसार नेपालमा ४३ लाख ५९ हजार २७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले दोस्रो अर्थात् पूर्ण खोप पाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।