काठमाडौं - आज काठमाडौं महानगरपालिकाका वडाहरुमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ।
महानगरपालिकालाई दिइएको खोप हिजो नै सकिएकोले आज खोप कार्यक्रम सञ्चालन नहुने भएको छ। आज बुढानिलकण्ठ र गोकर्णेश्वरमा पनि खोप कार्यक्रम सञ्चालन हुने छैन।
बूढानीलकण्ठमा खोप सकिएकाे र गोकर्णेश्वरमा विवाद भएका कारण खोप कार्यक्रम सञ्चालन नहुने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए।
उनले भने, ‘महानगरपालिकाको हकमा आज वडाहरुमा आज खोप कार्यक्रम सञ्चालन हुँदैन। तर, अत्यावश्यक सेवा कार्यरत व्यक्तिहरुका लागि राधास्वामी आइसोलेसन सेन्टर, प्रसुति गृह, काठमाडौं मेडिकल कलेज, शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल र निजामति अस्पतालमा खोप केन्द्र सञ्चालन हुनेछ।’
काठमाडौं जिल्लामा चार दिनमा १ लाख ४५ हजार ५७४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्
काठमाडौंमा साउन १४ गतेबाट सुरु भएको कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन भएको हो। आइतबार जिल्लाका ६० वटा खोप केन्द्रबाट ३३ हजार १५६ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्।
६६ वटा खोप केन्द्रमध्ये शनिबार टोखा, गोकर्णेश्वर र बूढानीलकण्ठबाहेक अन्य पालिकामा ५७ खोप केन्द्रमा भएका थिए।
उनका अनुसार असार १४, १५ र १६ गते सञ्चालन भएको खोप कार्यक्रममा एक लाख २४ हजार २१२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्।
काठमाडौं महानगरपालिकाका हरेक वडामा एक,एक गरी ३२ र ७ वटा अस्पताल गरी ३९ वटा खोप केन्द्र सञ्चालन भएका थिए।
त्यसैगरी, विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।
तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।