काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाण पत्र निःशुल्क रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गरी खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो।
वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाण पत्र जारी गर्दै आएको छ।
साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ।
अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।
अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल बानेश्वर, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र पाटन अस्पतालले खोप लगाएको प्रमाणीकरण गर्दै आएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।