फाइतल तस्वीर
काठमाडाैं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र वीर अस्पतालमा सञ्चालन हुँदै आएको कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ।
लक्षित समूहभन्दा बाहिरका व्यक्तिहरुको घुसपेठ भएपछि कोरोनाविरुद्धको खोप भेरोसेलको पहिला मात्रा लगाउने कार्यक्रम स्थगित गरिएको हो।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले उक्त क्षेत्रमा घुसपेठ नियन्त्रण गर्न कठिन भएको र संक्रमित विरामीकाे चाप बढ्दै गएकोले पहिला मात्रा लगाउने कार्यक्रम स्थगित गरिएको जानकारी दिए।
‘घुसपेठ नियन्त्रण गर्न कठिन भएको र अस्पतालमा कोरोना संक्रमित विरामिको चाप पनि बढ्दै गएको हुँदा भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम हाललाई स्थगन गरिएको गरिएको हो,’ उनले भने।
काठमाडौं जिल्लामा ६६ वटा खोप केन्द्र तोकिएकामध्ये बिहीबार ५६ खोप केन्द्र सञ्चालन भएको थियो। विभिन्न कारणले टोखा, बूढानीलकण्ठ र चन्द्रागिरि नगरपालिकाका खोप केन्द्रबाट भने पहिलो दिन खोप लगाइएन।
महानगरपालिकाले वडाहरुमा ५० वर्षभन्दा माथिका व्यक्ति, शिक्षक र चालकहरुका लागि खोप केन्द्र तोकेको छ। भने अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, टेकु, वीर, शिक्षण र निजामति अस्पतालमा खोप केन्द्र तोकिएको छ।
त्यसैगरी, विदेशमा काम गर्न जानेका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।