काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीन सरकारको अनुदानमा थप १६ लाख डोज कोरोनाविरुद्धको खोप चाँडै आउने जानकारी दिएकी छिन्। शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्दै उनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज चाँडै आउने बताएकी हुन्।
भेटमा राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरिन्। चिनियाँ जनता र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारीविरुद्धको लडाईंमा आफूहरू नेपालको साथमा रहँदै आएको बताइन्।
अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा चीनबाट प्राप्त भएको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे।
अर्थमन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे। उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे।
उनले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाहरूको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गरे। चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्नका लागि नेपाल सरकारले गर्नुपर्ने कामको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिइने अर्थमन्त्री शर्माको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।