काठमाडौं - बुधबार देशभर भेटिएका ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आईसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना संक्रमितमध्ये ६११ आईसीयू र १७१ भेन्टिलेटरमा थिए।
पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्या पनि बढ्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको पुष्टि हुन्छ। आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या स्थिर देखिन्छ।
एक साताको तथ्यांक
साउन ६ – २८३८ संक्रमित, ६२७ आईसीयू र १७१ भेन्टिलेटर
साउन ७ – २७१४ संक्रमित, ६३५ आईसीयू र १७२ भेन्टिलेटर
साउन ८ – २९७७ संक्रमित, ६८२ आईसीयू र १७५ भेन्टिलेटर
साउन ९ – ३११४ संक्रमित, ६५० आईसीयू र १६५ भेन्टिलेटर
साउन १० – २२३७ संक्रमित, ६६६ आईसीयू र १६८ भेन्टिलेटर
साउन ११ – ३४२१ संक्रमित, ६६९ आईसीयू र १६६ भेन्टिलेटर
साउन १२ – ३८९९ संक्रमित, ६११ आईसीयू र १७१ भेन्टिलेटर
साउन १३ – ३ हजार ८४०, ६११ आईसीयू र १६८ भेन्टिलेटर
कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यका पनि पुनः कोरोनाको जोखिममा फस्दै गएको छ। संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्या पनि भरिँदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्।
भरियाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटरमा भरिभराउ छ। अस्पतालले सिकिस्त बिरामीका लागि २४ आइसीयू, २२ वटा भेन्टिलेटर, कोभिड वार्ड ४०, स्पेशल क्याबिन १० शय्या छुट्याएको छ।
बुधबार दिउँसोसम्मको तथ्यांक अनुसार शुक्रराज अस्पतालमा २० जना आईसीयू, १७ जना भेन्टिलेटर, ३८ जना कोभिड वार्ड र स्पेशल क्याबिनमा ७ जना उपचाररत छन्।
बिरामीको संख्या र आवश्यकता अनुसार आईसीयूको संख्या २४ बाट २८ पुर्याउने तयारी गरिएको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताए। हाल संक्रमितको संख्या बढ्दै गएको उनकाे भनाइ छ। शुक्रराज अस्पतालमा निषेधाज्ञा खुलेयता शय्या भरिभराउ नै थिए। उनले भने, ‘अस्पतालमा त बिरामी घटेको छैन। आइरहेका नै छन्। निषेधाज्ञा खुलेपछि पनि बिरामी आउने जाने क्रम थियो। हाल हप्ता १० दिनदेखि बिरामीको संख्या बढ्न सुरु गरेको छ।’
निषेधाज्ञा खुलेपछि अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड तथा चहलपहल बढेको कारण संक्रमण पुनः बढ्न थालेको उनी बताउँछन्। अव्यवस्थित भीडका कारण खोप केन्द्रबाट समेत धेरैजसो संक्रमित भएको हुन सक्ने उनले बताए। यही क्रममा संक्रमितको संख्या बढ्दै गए नेपाल तेस्रो लहरको भुमरीमा फस्ने उनले बताए। ‘संक्रमित यसरी नै बढ्दै गयो भने तेस्रो लहर पनि नेपालमा आउँछ,’ उनले भने।
त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालमा पनि सिकिस्त खालका बिरामीको संख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पतालमा १०५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३० जनालाई आईसीयू र १० जनालाई भेन्टिलेटरमा राखिएको डा निरज बमले बताए।
कोभिडका लागि त्रिवि शिक्षण अस्पतालले भेन्टिलेटर सहित ३० आईसीयू र जनरल वार्डका लागि ८० शय्या छुट्याएको छ। एक सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको उनको अनुभव छ।
संक्रमितको संख्या बढ्न थाल्नु तेस्रो लहरको सुरुवात भएको डा बमले संकेत गरे। उनले भने, ‘करिब एक सातादेखि संक्रमितको संख्या बढ्न थालेको छ। हाल दैनिक करिब २२ जना जति भर्ना हुने गरेका छन्। यो तेस्रो लहरको सुरुवात भएजस्तो लाग्छ।’
डा बमका अनुसार संक्रमितको संख्या बढ्नुको केही मुख्य कारणहरु छन्।
पहिलो, सबैको पहुँचमा खोप नपुग्नु।
दोस्रो, जनस्वास्थ्यका मापदण्ड पालना नहुनु।
तेस्रो, लकडाउन खुलेपछि मानिसको चहलपहल र भीडभाड बढ्नु।
‘खोप लगाउन, पीसीआर परीक्षण गर्न कति धेरै भीड छ। त्यही माथि लकडाउनपछि मानिसहरुको धेरै भीडभाड बढ्यो। जनस्वास्थ्यका मापदण्ड पालना भएन। त्यही कारण यो समस्या आएको हो।’ उनले भने।
नेपाल एपीएफ अस्पताल
काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पताल कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्ये एक हो। यहाँ हाल १४५ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये १० आईसीयू र ५ जना भेन्टिलेटरमा रहेको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपालले बताए।
कोरोना संक्रमितको उपचारका लागि अस्पतालले २० आईसीयू र १२ भेन्टिलेटरसहित कुल २ सय शय्या छुट्याइएको छ। यो अस्पतालमा दैनिक करिब १० जना जति संक्रमित भर्ना हुने गरेका छन्। १० जना संक्रमित भर्ना हुँदा १ देखि २ जना संक्रमितलाई आईसीयू चाहिने गरेको उनले बताए।
नेपाल निजामति अस्पताल
नेपाल निजामति अस्पतालमा छुट्याएको २२ वटा हाइकेयर शय्या सबै भरिएका छन्। आईसीयूमा १२ र भेन्टिलेटरमा २ जना उपचाररत रहेको अस्पतालका सूचना अधिकारी डा सुमनबाबु मरहट्टाले बताए। कोभिडको उपचारका लागि अस्पतालले १४ आईसीयू, २२ हाइकेयर र ३ वटा भेन्टिलेटर छुट्याएको छ।
यहाँ पनि संक्रमितको संख्या बढ्न थालेको उनले बताए। उनले भने, ‘२/३ दिनदेखि संक्रमित बढ्न थालेका छन्। आईसीयू र भेन्टिलेटरमा त पहिले पनि खाली थिएन। तर अहिले कोभिड वार्ड र इमरजेन्सीमा आउने पनि बढ्न थालेको छ।’
योसहित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा हाल १२० जना संक्रमित भर्ना भई उपचारमा छन्। जसमध्ये २५ जना आईसीयूमा रहेको अस्पतालले जनाएको छ। काठमाडौं उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा सरकारी अस्पतालमा १७१ आईसीयू र ६८ भेन्टिलेटरमा गरी २३९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।