काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग अर्थमन्त्रालयमा छलफल गर्ने क्रममा उनले फागुनसम्म खोप आपूर्ति गर्ने तालिका संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गरे। खोप खरिदको लागि बजेटको कुनै कमी हुन नदिने भन्दै मन्त्री शर्माले जुन-जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गरे।
असोजभित्र खोप नलगाए अर्थतन्त्र धराशायी बन्ने उनले बताए। अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणका लागि विनियोजन गरिएको बजेटसमेत रकमान्तर गरेर भए पनि खोप खरिदमा लगाइने प्रतिबद्धता व्यक्त गरे। मन्त्री शर्माले प्राप्त भएका खोप लक्षित समुदायलाई दिने कार्यमा ढिलाइ भएकोमा असन्तुष्टि व्यक्त गरे।
छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने प्रतिक्रिया दिए। उनले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने बताए। प्राप्त भएका खोप लगाउनको लागि कार्ययोजना बनाइएको र अब योजनाबद्ध रुपमा खोप कार्यक्रमले गति लिने राज्यमन्त्री श्रेष्ठको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।