काठमाडौं– नेपालमा कोरोना भाइरसको 'डेल्टा प्लस' भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७ वटा नमूनामध्ये तीन जनाको नमूनामा डेल्टा भेरियन्टको थप उत्परिवर्तन भेटिएको हो। उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ।
देशका विभिन्न भागहरुवाट संकलन गरेका ४७ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट भेटिएको र तीमध्ये ३ वटामा थप उत्परिवर्तन 'के४१७ एन म्युटेसन' भेटिएको छ। जसलाई एवाई.१ नाम दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जेठ मध्येदेखि असार मसान्तसम्म देशका विभिन्न भागका विभिन्न उमेर समूहका ४७ वटा नमूना संकलन गरेर विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित प्रयोगशालामा जिन सिक्वेन्सिङका लागि पठाएको थियो। सो क्रममा नेपालमा डेल्टा प्लस भेरियन्ट पनि फेला परेको हो।
यसअघि पनि नेपालमा ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लस फेला परेको थियो।
हालसम्म यो म्युटेसन नेपालसहित संसारका १० भन्दा बढी राष्ट्रहरूमा पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालसहित भारत, रासिया, अमेरिका, युके, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो नयाँ म्युटेसन देखिएको छ।
यो म्युटेसन कुन देशमा पहिला देखियो भन्ने विषयमा भने अहिलेसम्म जानकारी आउन सकेको छैन। डेल्टा भेरियन्ट अहिले विश्वका ८० भन्दा बढी देशमा देखिएको छ। अल्फा भेरियन्ट १६४ देशमा देखिएको छ।
यीसहित हालसम्म नेपालमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरियन्ट तथा 'भेरियन्ट अफ इन्ट्रेस्ट' का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ। यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।