काठमाडौं- काठमाडौं उपत्यकामा करिब ८ हजार सक्रिय कोरोना संक्रमित पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हाल ७ हजार ९१२ सक्रिय संक्रमित रहेका छन्।
बिहीबारसम्म काठमाडौंमा मात्रै ५ हजार ९१६ सक्रिय संक्रमित रहेका छन्। यस्तै, भक्तपुरमा ९३५ जना र ललितपुरमा १०६१ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७५१ संक्रमित पहिचान भएका थिए।
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ५३६ जना रहेका छन्। यसैगरी भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
हिजाे बुधबार काठमाडाैं उपत्यकामा ६९७ काेराेना संक्रमित फेला परेका थिए। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४९० जना रहेका थिए। यसैगरी भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका थिए।
उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेकोले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।