काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोकिएको खोप अभियान पर्सिबाट पुन: शुरु हुनेभन्दै सबै नागरिकलाई संयमित हुन आग्रह गरेको छ।
शुक्रबार मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै केही जिल्लाहरुले खोप अभियान शुरु गरेर अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी दिएका छन्।
‘केही जिल्लाहरुले खोप अभियान शुरु गरि अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारीसमेत प्राप्त भएका छन्। जहाँ अर्को खोप अभियान पर्सिबाटै सुचारु हुँदैछ। भोली/पर्सिबाट शुरु हुने अभियानका लागि जोन्सनको खोप पनि विभिन्न जिल्लाहरु पुगिसकेका छन्,’ विज्ञप्तिमा भनिएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्ष र सो माथिका उमेर समूह, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई प्राथमिकतामा राखेर असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन भइरहेको थियो । खोप साउन २ गतेसम्म दिने भनिएको थियो।
तर, भेरोसेल खोपको मौज्दात समाप्त भएकाले अर्को सूचना नभएसम्मको लागि शुक्रबारबाट खोप अभियान काठमाडौंमा स्थगन गरिएको छ। यता, मन्त्रालयले भने आगामी साउन ६ गतेबाट सरकारले खरीद गरेका खोप चीनबाट आउने भएकाले कुनै अभाव नरहेको जनाएको छ।
‘साउन १५ गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउनेक्रम जारी रहनेछ र हामी सबैले खोप लगाउन पाउने छौं। त्यसैले सबैमा संयमित भइ खोप अभियान सफल बनाउन सहयोग गरिदिनुहुन सार्वजनिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।
साउन १ गते अर्थात् शुक्रबारसम्म काठमाडौं जिल्लामा १ लाख ४८ हजार ३३४ जनाले पहिलाे मात्राकाे चिनियाँ खोप भेराेसेल लगाएका छन्। शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका थिए।
बिहीबार ५८ हजार ६२० जनाले पहिलो मात्रा भेरोसेल खोप लगाएका थिए। यस्तै, बुधबार ४३ हजार ४५८ र मंगलबार १३ हजार ६६३ जनाले भेरोसेलकाे पहिलो मात्रा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।