फाइल तस्वीर
काठमाडौं- सरकारले विभिन्न उमेर समूह तथा लक्षित वर्ग विभाजन गरेर कोरोनाविरुद्धको खोप लगाउने काम अगाडि बढाइरहेको छ।
उमेर समूह र लक्षित वर्गले खोप लगाइरहेको समयमा विभिन्न प्रयोजनले विदेश जानुपर्ने व्यक्तिहरुले पनि खोप कसरी पाउन सकिन्छ भन्दै जिज्ञासा राख्न थालेका छन्।
विदेश यात्रा गर्ने नागरिकलाई खोप लगाउनका लागि सरकारले कसरी व्यवस्था गरेको छ, कहाँ गएर खोप लगाउने?
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार खोप अनिवार्य गरेका मुलुकहरुमा जाने नागरिकको लागि खोप उपलब्ध गराउने मन्त्रिस्तरीय निणर्य भइसकेको छ।
सरकारले विदेश जाने नेपाली नागरिकलाई चिनियाँ खोप भेरोसेल छुट्टाएको छ।
‘विदेश जाने नागरिकले गन्तव्य मुलुकमा खोप अनिवार्य गरेको डकुमेन्ट र विदेश जान लागेको अन्य कागजपत्र देखाउनु भयो भने पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सक्नुहुन्छ। तर, जाने देशले खोप अनिवार्य गरेको हुनैपर्ने कन्डिसन राखिएको छ,’ उनले भने।
भेरोसेल खोप २१ दिनको अन्तरमा दुई डोज अर्थात पूर्ण खोप दिइने भएकाले विदेश यात्रा गर्ने केही समय अघि नै खोप लगाउन डा शर्माले अनुरोध गरेका छन्।
यता, विभिन्न देशले विदेश यात्रा गर्दा ‘खोप राहदानी’ जारी गर्ने तयारी गरेको छन्।
कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अथवा खोप राहदानी भनिएको आधिकारिक कागजपत्रले मानिसहरूलाई विदेश यात्रा गर्दा आफू सुरक्षित रहे नरहेको प्रमाण पेस गर्न सजिलो तुल्याउँने उनीहरुकाे तर्क छ।
तर,नेपालले भने विदेश यात्रा गर्नेहरुका लागि छुट्टै ‘खोप राहदानी’को व्यवस्था नगरेको डा गौतम बताउँछन्।
‘अहिले सरकारले खोप लगाउँदा उपलब्ध गराउने खोप कार्डबाहेक अन्य छुट्टै ‘खोप राहदानी’ व्यवस्था गरिएको छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।