जापानले नेपाललाई १६ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने भएको छ। जापानले अक्सफोर्ड र अष्ट्राजेनेकाले बनाएको खोप दिने भएको हो।
जापानको काठमाडौंस्थित दूतावासले कोभ्याक्समार्फत १६ लाख डोज खोप नेपाललाई दिने जानकारी दिएको छ। दूतावासले मंगलबार प्रकाशन गरेको विज्ञप्ति अनुसार जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगीले आजै नेपाललाई अनुदानको खोप दिने घोषणा गरेका हुन्।
जापानले दिने खोप जुलाई मध्यदेखि अगष्ट अन्तिमसम्ममा आइपुग्ने छ। खोप आइपुग्ने मिति भने यसको खरिद प्रक्रिया टुंगिएपछि निश्चित हुने दूतावासको विज्ञप्तिमा उल्लेख छ। जापानले पठाउन लागेको अक्सफोर्ड/अष्ट्राजेनेकाको खोप जापानमा नै उत्पादन गरिएको हो।
उक्त खोपले यसअघि भारतको सेरम इन्स्टिच्युटमा उत्पादित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन पुग्नेछ। कोभिसिल्ड पनि अक्सफोर्ड र अष्ट्राजेनेकासँगको समन्वयमा सेरम इन्स्टिच्युटले भारतमा उत्पादन गरेको हो।
जापानका विदेश मन्त्री मोतेगीले मंगलबार कोभ्याक्स कार्यक्रममार्फत् विभिन्न देशलाई १ करोड १० लाख डोज खोप दिने घोषणा गरेका छन्। जापानले नेपाललगायत बंगलादेश, कम्बोडिया, इरान, लाओस, श्रीलंकासहित विभिन्न देशलाई खोप दिने घोषणा गरेको छ।
हालसम्म दुई खेप लगाउनु पर्ने विभिन्न खोप ५० लाख ४८ डोज र एक खेप लगाए हुने जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आएको छ।
काठमाडौंस्थित जापानी दूतावासको विज्ञप्ति :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।