काठमाडाैं- सरकारले चीनबाट खरिद गरेको कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो डाेज मंगलबार (भाेलि)देखि लगाइने भएकाे छ।
परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाउन लागिएकाे हाे।
यी तीन प्रदेशका ५५ वर्ष र सो माथिका उमेर समूहलाई पहिलो डाेज लगाउन लागिएको उनले जानकारी दिए।
भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।
यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो डाेज पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ।
नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरिद गरिएको ४० लाख खोपअन्तर्गत असार २४ गते पहिलो चरणमा ८ लाख डोज आएको थियाे।
५५ वर्षदेखिका नागरिकले नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागाजका आधारमा खोप लगाउन पाउने विभागले जनाएको छ। कुनै प्रमाण नभएमा स्थानीय तहले प्रमाणित गरेको कागजात पेस गर्नुपर्ने हुन्छ।
सार्वजनिक यातायातका चालक,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र र सवारी साधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण पेस गर्नुपर्ने हुन्छ।
यस्ता विवरण प्रमुख जिल्ला अधिकारीले प्रमाणित गर्नुपर्ने हुन्छ। विश्वविद्यालय र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्र पेस गर्नुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।