काठमाडौं- स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गरेका छन्। त्यसक्रममा मन्त्री श्रेष्ठले अब आउन सक्ने कोरोना तेस्रो लहरको गम्भीरतापूर्वक पूर्वतयारीमा रहन निर्देशन दिए।
कार्यक्रममा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो।
अस्पतालले हाल एक सय बेडको आईसीयू सञ्चालन गरिरहेको छ। बाँकी एक सय बेड आईसीयूसहितको बेड तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डा. गौतमले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्माले भोलि आइतबार अस्पताल भवन अद्घाटन गर्ने अघिल्लो दिन शनिबार निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न निर्देशन दिए।
'अब आउने सक्ने संक्रमणलाई मध्यनजर गरी सबै तयारी पूरा गर्नुस्। कोभिड अस्पतालको रुपमा रहेको यो अस्पताललाई पूर्ण रुपमा सञ्चालन गर्नुस्। सरकारले देखिनेगरी सबै पूर्वाधार तयारी गरिसकेको छ। अब बिरामीलाई कुनै समस्या नपर्नेगरी काम गर्नुस्', मन्त्री श्रेष्ठले भने।
स्वाथ्य सचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई सबै सहयोग गर्ने जानकारी गराए। उनले तेस्रो लहरलाई मध्यनगर गरी सबै तयारी थालेको बताए। कार्यकारी निर्देशक डा. गौतमले सरकारले हालै कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको अवस्थामा काम गर्न सजिलो हुने बताए।
मन्त्री श्रेष्ठले अब सबै बिरामीको नि:शुल्क उपचार गर्नेगरी पूर्ण क्षमतामा अस्पताल सञ्चालन गर्न निर्देशन दिए। मन्त्री श्रेष्ठले हस्पतालको आईसीयू वार्ड, अक्सिजन प्लान्ट लगायत सबै संरचना अवलोकन गरे। प्रधानमन्त्री ओलीले २०७४ सालमा उद्घाटन गरेको सो भवन प्रधानमन्त्री ओलीले नै उद्घाटन गर्न लागेका हुन्।
फरक प्रसंगमा मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिए। उच्च प्राथमिकतामा रहेका विदेश जाने तयारी गरिरहेका श्रमिक, शिक्षक, सबै मन्त्रालयका कर्मचारी, यातायात मदजुर, फ्रन्टलाइनमा खटिने लगायतलाई उच्च प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।