काठमाडाैं- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालीलाई पुग्नेगरी काेराेनाविरुद्धकाे खोप नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन्।
उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपालीलाई पुग्नेगरी काेराेनाविरुद्धकाे खाेप उपलब्ध गराउने जानकारी दिएका हुन्।
‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी काेराेनाविरुद्धकाे खोप नि:शुल्क उपलब्ध गराउँदैछ,’ उनले लेखेका छन्, ‘नेपाल–अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो।’
बेलायती समाचार संस्था रोयटर्सले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सरकारले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन र भुटानलाई मोडेर्ना कम्पनीले उत्पादन गरेकाे ५ लाख डोज काेराेनाविरुद्धकाे खोप पठाउन लागेको जानकारी दिएकाे थियाे।
यसअघि पनि अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत अनुदानमा अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित ‘जेन्सेन एडी २६.सिओभी.२’ खोप नेपाल पठाउने जानकारी दिएको थियो। उक्त खाेप कहिले आउँछ भन्नेबारे केही जानकारी दिइएकाे छैन।
यद्यपि, अहिलेसम्म नेपालमा भारत र चीनबाट ल्याइएका खोप दुई डोज लगाउनु पर्ने खालका छन्। तर, अमेरिकाबाट आउने खोप एक डोज मात्र लगाए पुग्ने विज्ञहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।