भारतको गुवाहाटीमा कोभिड संक्रमणबाट मृत्यु भएका आफन्तको अन्तिम संस्कारमा प्राथना गर्दै एक महिला। तस्वीर : एपी
कोरोनाविरुद्धको खोपको सहजता बढ्दै जाँदा विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ। कोरोना संक्रमणको संकट बढ्दा खोप अभियान र संक्रामक डेल्टा भेरियन्टबीचको ‘दौड’ जस्तो बनेको छ।
विश्वमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४० लाख २५ हजार नाघिसकेको छ। जोन हप्किन्स युनिभर्सिटीले निकालेको तथ्यांकमा कोरोनाबाट पछिल्लो डेढ वर्षमा मृत्यु हुनेको संख्या सन् १९८२ पछिका सबै युद्धमा मारिएका मानिसको संख्याभन्दा बढी भएको नर्वेको ओस्लोस्थित पीस रिसर्च इन्स्टिच्युटलाई उधृत गर्दै अलजजिराले जनाएको छ।
ग्वाटेमालाको राजधानी ग्वाटेमालामा त्यहाँको सडक स्यानिटाइज गर्दै एक कामदार। तस्वीर : एपी
कोरोनाबाट मृत्यु हुनेको संख्या प्रत्येक वर्ष विश्वभरि सवारी दु्र्घटनामा मारिनेभन्दा बढी छ। त्यस्तै यो संख्या अमेरिकाको लस एन्जल्स वा स्वतन्त्र राष्ट्र जर्जियाको बराबर हो। अथवा यो हङकङको जनसंख्याको आधा वा न्यू योर्क सिटीको भन्दा करीब आधा हो।
मृतकको यो संख्यामा कतिपय बाहिर नआएका घटना समावेश छैनन्। त्यस्तै कतिपय मृत्युका घटना लुकाइएको पनि छ। गएको जनवरीमा विश्वभरिको दैनिक मृत्युदर १८ हजार थियो। भ्याक्सिनको उपलब्धतासँगै यो संख्या घटेर सात हजार ९०० मा झरेको छ।
खोप अभियानमा सफलता पाइरहेका अमेरिका, बेलायत, इजरायल जस्ता देशमा पनि भारतमा सर्वप्रथम फेला परेको डेल्टा भेरिएन्टले पछिल्ला केही हप्तादेखि खतराको घन्टी बजाइरहेको छ। यो हप्ता बेलायतमा ३० हजार नयाँ संक्रमित फेला परे। गएको जनवरीयता यति ठूलो संख्यामा संक्रमित फेला परेको पहिलो पटक हो। यद्यपि, त्यहाँको सरकारले बन्दाबन्दीका बाँकी सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म ६ लाख २२ हजारभन्दा बढीको मृत्यु भएको छ। त्यस्तै ब्राजिलमा पाँच लाख ३० हजार र भारतमा चार लाख पाँच हजारभन्दा बढीको मृत्यु भएको छ।
अमेरिकाको क्यालिफोर्नियामा १२ वर्षका बालकलाई फाइजरको खोप दिइँदै। तस्वीर : एपी
नयाँ दिल्लीमा कोभिडबाट मृत्यु भएकाहरुको शव ओसार्ने बाहनका थकित कर्मचारी। तस्वीर : एपी
केन्याको राजधानी नैरोबीमा मृतकलाई राख्नुअघि अन्त्येष्टि गर्ने स्थानमा स्यानिटाइज गर्दैै कामदार। तस्वीर : एपी
इन्डोनेसियाको राजधानी जाकार्तामा अन्तिम संस्कारस्थलमा भावुक भएका आफन्त। तस्वीर : एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।