काठमाडौं- मंगलबार देशभर ८२ हजार ९२४ जनाले कोरोनाविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ४१ जिल्लामा चलेको खोप अभियानअन्तर्गत पहिलाे दिन ८२ हजार ९२४ जनाले भेरोसेलको दोस्रो मात्रा अर्थात पूर्ण खोप लगाएको जानकारी दिए।
उनका अनुसार काठमाडौं उपत्यकामा ३२ हजार व्यक्तिले खोप लगाएका छन्। उनले अझै पूर्ण विवरण आउन बाँकी रहेको बताए। खोप शाखा प्रमुख डा गौतमले भने, ‘७७ वटै जिल्लामा खोप अभियान संचालन हुन्छ।’ मगलबारबाट सुरु भएकाे खाेप अभियान बिहीबारसम्म संचालन हुनेछ। केही जिल्लामा भने आजबाट मात्र अभियान सुरु हुने उनकाे भनाइ छ।
गत २५ जेठ देखि पहिलो डोज खोप लगाएका र त्यसभन्दा अघि नै पहिलो डोज लिएर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई मंगलबारबाट दोस्रो मात्रा खोप दिन सुरु गरिएको हाे।
जेठ २५ गते उपत्यकाका ६० देखि ६५ र उपत्यकाबाहिर ६४देखि ६५ वर्ष उमेरसमुहका ४ लाख ६० हजार व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइएको थियो।
स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भेरोसेल खोप लगाएर समय पुगी दोस्रो मात्रा लगाउन छुटेका र २५ गते लगाएका समेत गरी करिब ५ लाख व्यक्तिदाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने बताइएको छ। त्यसका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकिएको छ।
नेपालमा गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरुवात भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।