काठमाडौं- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ। यद्पि निषेधाज्ञा असार ३१ गतेसम्म जारी रहनेछ।
सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर बिजोर प्रणाली भने हटाइएको छ।
तर, मनोरञ्जन स्थल, सैलून, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय र चिडियाखाना अझै सञ्चालन गर्न पाइने छैन।
विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
यस्तै, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाउने उनले बताए।
विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न/गराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा साँस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)ले भौतिक उपस्थितिमा पठन-पाठन गर्न नपाउने सीडीओ पराजुलीले बताए।
स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।
कोरोना महामारी बढेसँगै गएको वैशाख १६ गतेदेखि काठमाडाैं उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।