काठमाडौं– जायडस कैडिला कम्पनीले उत्पादन गरेको कोरोनो विरुद्धको खोप जायकोभ डी को आपतकालीन प्रयोगका लागि भारतको औषधि नियन्त्रण नियन्त्रक (डीसीजीआई)सँग अनुमतिका लागि निवेदन दिएको छ।
कम्पनीले भारतमा अहिलेसम्म ५० भन्दा बढी केन्द्रमा खोपको क्लिनिकल परीक्षण गरेको दाबी गरेको छ।
कम्पनीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘डीसीजीआईमा आपतकालीन प्रयोगका लागि अनुमतिका लागि निवेदन दिएको छ। यो खोप प्लाज्मिड डिएनए खोप हो। यो खोप प्रौढ मात्र नभएर १२ देखि १८ वर्ष उमेरसम्ममा पनि प्रभावकारी देखिएको छ।’
भारतमा उत्पादित कोरोनाभाइरस विरुद्धकाे यो दोस्रो खोप हो। यसअघि बायोटेकले उत्पादन गरेको कोभ्याक्सिनले आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ। हालसम्म भारतमा कोभिसिल्ड, कोभ्याक्सिन, स्पुतिनिक भी, मर्डेना खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ। यदि जायकोभ डी ले आपतकालीन अनुमति पायो पाँचौं कोरोना विरुद्धको खोप हुनेछ।
भारतमा १२ देखि १८ वर्ष उमेर समुहमा परीक्षण भएको यो पहिलो खोप हो। कम्पनीका अनुसार उक्त उमेर समुहका एक हजार व्यक्तिमा परीक्षण भएको छ। कम्पनीले वार्षिक रुपमा १२ करोड खोप उत्पादन गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।