फाइल तस्वीर। काठमाडौं– कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक'का लागि भन्दै वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायातका साधनहरु झन्डै दुई महिनापछि सञ्चालनमा आउने भएका छन्।
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार सार्वजनिक यातायातका सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। तीन जिल्लाका सीडीओको बैठकले गरेको निर्णयानुसार मंगलबारदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका साधनलाई तोकिएको सिट क्षमतानुसार यात्रु बोक्नेगरी चलाउन पाइनेछ।
निजी सवारीमा जस्तै सार्वजनिक सवारीसाधन पनि जोरबिजोर प्रणाली लागू हुनेछ। तर, यातायात व्यवसायीहरुले भने सार्वजनिक यातायात खुला गर्ने उपत्यकाका सीडीओहरुको निर्णय 'अपरिपक्व' र 'मजाक' गरेजस्तो भएको भन्दै असन्तुष्टि जनाएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला विनाकुनै अध्ययन र विनायोजना मजाक गरेजस्तो गरी सार्वजनिक यातायात खुलाउने निर्णय भएको बताउँछन्। सार्वजनिक यातायात खुलाउने निर्णय पक्षपातीजस्तो भएको पनि उनको भनाइ छ।
'उपत्यकामा निषेधाज्ञालाई खुकुलो बनाउने र सार्वजनिक सवारी सञ्चालनको निर्णय भएको सुनियो। तर, यातायात व्यवसायीका लागि यो निर्णय अर्थ न बर्थ गोविन्द गाई भनेजस्तै भएको छ,’ सिटौलाले भने।
आफूहरुले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी सार्वजनिक सवारी सञ्चालन गर्ने सुझाव दिए पनि अपरिपक्व निर्णय भएको उनको भनाइ छ।
२५ सिट क्षमता वा सोभन्दा माथिका सार्वजनिक सवारीमात्रै सञ्चालन गर्न पाउने भनेर भएको निर्णय असान्दर्भिक र पक्षपाती भएको उनले टिप्पणी गरे। ‘२५ सिट क्षमताभन्दा कम सिट क्षमता भएका सवारीका मालिक तथा कर्मचारीलाई हेला गरिएको छ,’ उनले भने, ‘उनीहरुचाहिँ बाँच्नु पर्दैन?’
२५ सिट क्षमता वा सोभन्दा माथिको सवारी सञ्चालनमा पनि जोरबिजोर प्रणाली लागू गर्ने भन्ने निर्णय झन् अपरिपक्व भएको उनको भनाइ छ। सार्वजनिक यातायातमा भिड कम गर्न सबै सवारीसाधनलाई चल्न दिनुपर्ने उनको भनाइ छ।
'२५ सिट क्षमताभन्दा माथिका गाडीहरु त्यसै पनि कम छन्। भएका पनि जोरबिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने भनेपछि स्वास्थ्य सुरक्षाको मापदण्ड र ५० प्रतिशत यात्रु मात्रै चढाउने भन्ने कुराको पालना कसरी सम्भव हुन्छ?,' सिटौला भन्छन्, 'यस्तो निर्णयले कोरोना भाइरसको संक्रमण झन् बढाउने जोखिम हुन्छ।
सार्वजनिक सवारीका साधनहरु जति धेरै सञ्चालन हुन्छन् त्यति नै भिडभाड कम हुने उनको तर्क छ। 'काठमाडौं उपत्यकामा अहिले १ हजार सवारी सञ्चालन हुँदा गाडीहरुमा हुने भिड तीन हजार सवारीका साधन सञ्चालन हुँदा स्वत: कम हुन्छ,' सिटौला भन्छन्।
स्वास्थ्य सुरक्षाका मापदण्डहरुको कडाइपूर्वक पालना गराइ भएका सबै सवारीका साधनहरु सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ। धेरै सवारी सडकमा आउन दिँदा भिडभाड कम हुने र रोग फैलने सम्भावना पनि कम हुने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।