काठमाडौं– एजलिड इन्टरनेसनल प्रालिले युरोपबाट पहिलोपटक १२ वटा अक्सिजन प्लान्ट आयात गरेको छ।
सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रालिले करिब १५ करोड रुपैयाँमा युरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो।
अक्सिजन आयातका लागि एनबीआईसँगै हेटौंडा उद्योग वाणिज्य संघ, पुरी फाउण्डेसन बेल्जियम र एनआरएनए बेल्जियमले समेत सहयोग गरेका छन्।
आयात गरिएका प्लान्ट काठमाडौंको जनमैत्री अस्पताल, टेकु अस्पताल, हेटौंडा अस्पताल, कीर्तिपुर अस्पताल, पोखरा सरुवा रोग नियन्त्रण अस्पताल र कन्काई अस्पतालमा जडान गरिने छ।
बाँकी रहेका ६ वटा प्लान्ट भने आवश्यकता अनुसार कुनै पनि अस्पताललाई बिक्री गर्न सकिने एजलिडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए।
टर्कीको एटासाम कम्पनीबाट उत्पादित ‘अक्सिलाइफ’ ब्रान्डको अक्सिजन प्लान्ट अहिलेसम्म नेपालमा आएको भन्दा गुणस्तरीय रहेको कम्पनीको दाबी छ।
‘हालसम्म नेपालमा ९२ प्रतिशतमात्रै अक्सिजन मात्रा भएका प्लान्ट आयात हुँदै आएकोमा पहिलोपटक युरोपबाट ९५ प्रतिशत मात्रा भएको प्लान्ट आयात भएको छ,’ अध्यक्ष श्रेष्ठले भने।
आयात गरिएका अक्सिजन प्लान्टबाट प्रतिदिन २५ सिलिण्डरदेखि १७६ सिलिण्डसम्म अक्सिजन उत्पादन हुन्छ। उत्पादित अक्सिजन ५० देखि २ सय ५० बेडको अस्पतालको माग सहजै धान्न सक्ने श्रेष्ठले जानकारी दिए।
बैशाख तेस्रो सातादेखि औषधि तथा अस्पताल उपकरणमा चरम अभाव भएका बेला पनि एजलिड इन्टरनेसनले अक्सिजन सिलिण्डर, भेन्टिलेटर, पल्स अक्सिमिटर लगायतको आपूर्ति तथा बजार व्यवस्थापन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।