काठमाडौं– कोरोना भाइरसको संक्रमणपछि उपचारका लागि निजी अस्पतालमा भर्ना हुने बिरामीको खर्च अब सरकारले नब्यहोर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा मंगलबार जारी एक सूचनामा सरकारसँग सेवा सम्झौता गरेका निजी अस्पतालहरुमा भर्ना भइ उपचार गराइरहेका संक्रमितहरुको उपचार खर्च अबको १० अर्थात् आगामी असार १८ गतेसम्म मात्र ब्यहोर्ने निर्णय भएको जनाएको छ।
यसअघि निजीसहित देशभरका ८६ अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार हुने अस्पतालमा तोकिएको थियो। स्वास्थ्य मन्त्रालयले अब भने सरकारी अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको हो।
कोभिड–१९ को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा मंगलबार (असार ८ गते) सम्ममा भर्ना भइ उपचाररत संक्रमितको असार १८ गतेसम्मको मात्रै नियामानुसारको सोधभर्ना उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।
निजी अस्पतालहरुले सरकारले तोकेको उपचार शुल्कमा कोरोना संक्रमतिलाई उपचार सेवा भने दिन सक्नेछन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।