काठमाडाैं- काठमाडौं उपत्यकामा अब बारअनुसार पसल खाेल्न पाइने भएकाे छ।
आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै बारअनुसार पसल खाेल्न दिने निर्णय गरेकाे हाे।
ललितपुरका सीडीओ ढुण्डिप्रसाद निराैलाका अनुसार स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाएर आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरेर बिहान ११ बजेदेखि ४ बजेसम्म पसलहरु खोल्न दिइने निर्णय भएकाे छ।
आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस्, इलेक्ट्रोनिक पसल खाेल्न पाइने छ।
यस्तै, सोमबार, बुधबार र शुक्रबार डिपार्टमेन्टल स्टोर (ग्रोसरी बाहेक अन्य), सपिङ्ग मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ्ग पसल खाेल्न पाइने छ।
खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री बिक्रिबितरण गर्ने पसलहरु तथा डिपार्टमेन्टल स्टोर (ग्रोसरी), पुस्तक तथा स्टेशनरी पसल दैनिक बिहान ११ बजेसम्म खाेल्न पाइने छ।
निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, काटिङ्ग): बिहान ११ बजेदेखि अपरान्ह ६ बजेसम्म खाेल्न पाइने छ।
यस्तै, अनलाइन डेलिभरी/टेक अवे र सवारी साधन मर्मत वर्कशप साँझ ७ बजेसम्म सञ्चानल गर्न पाइने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।