काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले कोरोना भाइरसको तेस्रो लहरबाट जोगिन पूर्वतयारी थालेको छ। तेस्रो लहरबाट बालबालिका धेरै प्रभावित हुन सक्ने भन्दै प्रतिष्ठानले २० बेडको आईसीयू, १० बेडको पीआईसीयू र ६ बेडको एनआईसीयू छिट्टै सञ्चालनमा ल्याउने बताएको छ।
मंगलबार प्रतिष्ठानको सेवा विस्तार र कोभिड व्यवस्थापन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानका निर्देशक डा प्रज्ञा सिंह बस्नेतले हालको कोभिड-१९ को महामारीको जटिल परिस्थितिमा ५० बेडको एचडीयू व्यवस्था गरी कोरोना संक्रमितहरुको उपचार भइरहेको बताइन्। हाल प्रतिष्ठानले ४ वटा अत्याधुनिक अपरेसन थिएटर सञ्चालन गरिरहेको छ।
प्रतिष्ठानले अहिले एमआरआई मेसिन खरिदको प्रक्रिया अघि बढाएको र केही हप्ताभित्रै एमआरआई सेवा सञ्चालनमा ल्याइने पनि निर्देशक डा बस्नेतले बताइन्। आईसीयू सेवा सञ्चालनका लागि हाल प्रतिष्ठानमा ३ जना ऐनेस्थेसिस्ट, ३ जना फिजिसिएन र दक्ष ईएनटी सर्जन रहेको बताइएको छ।
अन्तरक्रिया कार्यक्रम।
प्रतिष्ठानमा जटिल बिरामीको उपचारका लागि छिट्टै २ वटा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना रहेको उनले बताइन्। एउटा प्लान्ट आउँदो हप्तामा र अर्को प्लान्ट तीन हप्तासम्म जडान हुने डा बस्नेतले बताइन्। उनका अनुसार यसबाट आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन हुनेछ।
कोभिडको महामारीमा देशमा फाट्टफुट्ट देखा परेको कालो ढुसीको प्रतिष्ठानमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ। यो रोगको विशेषज्ञ चिकित्सक स्वयं प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी रहेको र अन्य २ जना नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सकहरू समेत कार्यरत रहेको निर्देशक डा बस्नेतले बताइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।