काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका प्रावधान आजदेखि केही सहज बनाइएको छ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको जेठ ३० गते बसेको बैठकले केही प्रावधान खुकुलो बनाउँदै निषेधाज्ञा एक साताका लागि लम्ब्याउने निर्णय गरेको हो।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै जेठसम्म जारी गरेको निषेधाज्ञाको अवधि पुनः एक हप्ताका लागि असार ७ गते मध्यरातसम्मका लागि लम्बाइएको हो।
महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण क्रमशः घट्दै गएकाले जारी निषेधाज्ञालाई केही खुकुलो बनाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। महामारी पूर्ण नियन्त्रणमा नआएको र अझै जोखिम कायम रहेकाले सबै क्षेत्र भने तत्काल खोल्न नसकिने उनको भनाइ छ।
काठमाडौं उपत्यकामा वैशाख १६ बाट जारी निषेधाज्ञा आजबाट केही खुकुलो बनाइएको हो। योसँगै खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म खुल्नेछन्। यसअघि ९बजेसम्म मात्र खोल्न दिइएको थियो।
आजबाट शैक्षिक सत्र सुरु भएकाले पुस्तक पसल पनि बिहान ११ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए। नयाँ व्यवस्थचा अनुसार अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्न पाइनेछ। अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
प्रत्यक्ष सम्पर्क हुने बढी भिडभाड हुने क्षेत्र भने अझै केही समय नखुल्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।