काठमाडाैं- कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको पहिलो दिन नेपालमा कोरोना संक्रमणदर ३८.३५ प्रतिशत (पीसीआर परीक्षणमा) थियो। निषेधाज्ञाको ४७ औं दिनमा आइपुग्दा संक्रमणदर झण्डै ५० प्रतिशतले घटेर २१ प्रतिशतमा झरेको छ।
कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिएपछि सरकारले वैशाख १६ गते मध्यरातिबाट काठमाडाैं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। केही जिल्लामा त्यसअघि नै निषेधाज्ञा सुरु भइसकेको थियो।
निषेधाज्ञा सुरु भएयताको ४७ दिनमा दुई लाख ९८ हजार ४०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। कूल छ लाख ८५ हजार ३७९ जनाको पीसीआर परीक्षणबाट ती संक्रमित पहिचान भएका हुन्। उक्त अवधिको औसत संक्रमणदर ४३.५४ प्रतिशत कायम भएको छ।
निषेधाज्ञा सुरु भएको दिन अर्थात् वैशाख १६ मा पीसीआर परीक्षण गरिएकामध्ये ३८.३५ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो। यसको अर्थ १०० जनामा परीक्षण गर्दा ३८ जना संक्रमित भेटिएका थिए। त्यसको भोलिपल्ट (वैशाख १७) संक्रमणदर ३६.७६ प्रतिशतमा झरे पनि अर्को दिनबाट लगातार संक्रमणदर बढ्दै गएको थियो।
वैशाख २७ गते सबैभन्दा उच्च ५२.६१ प्रतिशत संक्रमणदर कायम भएको थियो। उक्त दिनको संक्रमणदर नेपालमा कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो।
त्यसपछि संक्रमणदर केही घटे पनि जेठ ११ गतेसम्म ३५ प्रतिशभन्दा माथि नै कायम रह्यो। जेठ १७ गते पहिलोपटक संक्रमणदर ३० प्रतिशतभन्दा तल झरेको थियो। उक्त दिन २७.७५ प्रतिशत कायम भएको थियो।
त्यसयता संक्रमणदर दैनिक घटबढ हुँदै जेठ मसान्त अर्थात् ३१ गते २१.७१ प्रतिशतमा झरेको छ। स्वास्थ्य मन्त्रालयको यो तथ्यांकले कोरोना संक्रमण केही कम हुँदै गएको देखाउँछ। यद्यपि, संक्रमणको जोखिम कम भइसकेको भने छैन।
सरकारले संक्रमणको जोखिम कम भइनसकेको ठहर गर्दै मुलुकको संघीय राजधानी, काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय अवधि एक हप्ता थप गरिसकेको छ। यसअघि तोकिएको समयसीमा आज (जेठ ३१) रातिबाट सकिँदै छ। तर, अब एक हप्ता थपिएसँगै असार ७ गतेसम्म निषेधाज्ञा कायम रहनेछ। असार १ गतेबाट भने केही क्षेत्रमा निषेधाज्ञा खुकुलो पारिएको छ।
यस्तो छ निषेधाज्ञापछि ४७ दिनको दैनिक संक्रमणदर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।