काठमाडौं– काठमाडौं महानगरपालिकामा सोमबार र मंगलबार कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाउने कार्यक्रम चलिरहेको छ। खोप अभावका कारण यसअघि स्थगित भएको कार्यक्रम पुनः शुरु भएको हो।
यसपटक खोप कार्यक्रम सोमबार र मंगलबार चल्ने छ। काठमाडौं महानगरपालिका क्षेत्रमा खोप लगाउनका लागि ४ वटा क्षेत्र तोकिएको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप केन्द्र तोकिएको छ।
यसपटकको खोप अभियानमा ६०–६१ वर्ष उमेर समूहका नागरिक, भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, कोरानाका बिरामीको उपचार जाँच र प्रत्यक्ष उपचारमा संलग्न चिकित्साकर्मी, प्यारामेडिक्स, नर्सिङका विद्यार्थीलाई खोप लगाउन लागिएको हो।
यसअघि काठमाडौं महानगरका सबै वडामा खोप लगाउने काम भएको थियो। यसपटक ४ वटा मात्रै केन्द्र तोकिएका कारण खोप लगाउने केन्द्रमा मानिसहरुको बाक्लो भीड देखिन्छ।
केही दिन अगाडि भित्रिएको मनसुनका कारण काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ। तर, खोप लगाउन पुगेकाहरु भने वर्षाका पनि पर्वाह नगरी (छाता आढेर) लाइनमा उभिएका देखिए।
काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा सोमबार खोप लगाउनका लागि ५०० टोकन वितरण गरिएको थियो। तर, खोप लगाउन पुगेकाहरुको व्यवस्थापन भने उपयुक्त तरिकाले गरिएको देखिएन।
खोप लगाउनेहरुको लाइनमा स्वास्थ्य सुरक्षाको मापदण्ड (भौतिक दूरी)को समेत पालना गरिएको देखिएन। नियमित स्वास्थ्य उपचारका लागि अस्पताल पुगेकाहरु पनि खोप लगाउनेको लाइन देखेर कोरोना पो सर्ने हो कि भनेर ‘डराइरहेका’ देखिन्थे।
सिभिल अस्पतालको प्रवेशद्वार (मुख्य गेट)मा देखिएकी एक महिलाले खोप लगाउनेहरुको भीड देखेर भित्रै नछिरी फर्किएको बताइन्।
‘गाइनोको ओपीडी त खुल्लै रहेछ। तर, खोप लगाउनेहरुका कारण भिडभाड छ,’ गर्भावस्थाको जाँच गराउन भनेर अस्पताल पुगेपनि जाँच नै नगराइ फर्किन लागेको बताउने ती महिलाले भनिन्, ‘खोप लगाउन आएकाबाटै कोरोना सर्ला कि भन्ने डर लाग्यो। खोप लाउनेहरु नभएको दिन आउनु पर्ला!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।