काठमाडौं- काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो गरी पुन: थपिएको छ। निषेधाज्ञा एक हप्ता लम्बाइएको हो। यसअघि जारी गरेको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैथियो।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार होटल/ रेस्टुरेन्टको टेक अवे सेवालाई निरन्तरता दिने निर्णय भएको छ। उनका अनुसार अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान ७ बजेदेखि काम गर्न दिइने छ। तर, ग्राहकले होटलमा बसेर खान भने पाउने छैनन्।
आइतबार बसेकाे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले तरकारी तथा खाद्यान्न पसल समेत बिहान ११ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेकाे छ। यस अगाडि तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइएकाे थियाे।
यस्तै, फलफूल र पुस्तक पसल पनि ११ बजेसम्म खुल्ला गर्न पाइने छ। शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको भक्तपुरका सीडीओ भट्टराईले बताए।
उनका अनुसार दिउँसो ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।