काठमाडौं– कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा असारको पहिलो हप्तामा पनि जारी रहने भएको छ। हाल कायम प्रतिबन्धलाई कायम राख्दै निषेधाज्ञालाई निरन्तरता दिने तयारी भइरहेको जनाइएको छ।
काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले निषेधाज्ञालाई निरन्तरता दिने तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए।
यद्यपि कृषि कार्य र बैंक तथा वित्तीय क्षेत्रलाई भने केही खुकुलो गर्ने तयारी भइरहेको प्रजिअ निरौलाले जानकारी दिए। ‘पहिलोको भन्दा संक्रमण दर केही घटेको छ। तर, निषेधाज्ञा खोलेर जनजीवन सामान्य अवस्थामा फर्किने खालको भएको छैन,’ प्रजिअ निरौलाले भने, ‘असारमा पनि निषेधाज्ञा जारी नै रहन्छ । केही क्षेत्रको प्रतिबन्ध खुकुलो हुनसक्छ।’
प्रजिअ निरौलाले कृषि कार्यसँग सम्बन्धित क्षेत्र र कृषि उद्योगहरुलाई खुला गर्ने विषयमा भने छलफल चलिरहेको जानकारी दिए। अहिले खेतीको मौसम भएकाले पनि कृषि क्षेत्रलाई केही खुकुलो बनाउनुपर्ने अवस्था रहेको उनले बताए ।
अहिले कृषि क्षेत्रसँग सम्बन्धित उद्योग तथा पसलहरु बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिइएको छ। असारदेखि भने त्यस्तो समय केही बढ्न सक्ने जनाइएको छ। यस्तै, खाद्यान्न तथा दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलहरु पनि बिहान र साँझ गरी खोल्न दिने विषयमा छलफल भइरहेको जनाइएको छ।
यस्तै, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाका हकमा पनि प्रतिबन्ध केही खुकुलो बनाइने उनले बताए । ‘अहिले बैंक तथा वित्तीय संस्थाका धेरै कम मात्रै कार्यालय सञ्चालन गर्न दिइएको छ। अब यसमा केही परिमार्जन गरेर खुकुलो बनाउने तयारी छ,’ प्रजिअ निरौलाले भने।
काठमाडौं उपत्यकामा अहिले बाणिज्य बैंकको हकमा प्रधान कार्यालय र सबै जिल्लामा दैनिक ३ वटा कार्यालय खुला गर्न दिइएको छ। यस्तै, विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालय, वित्त कम्पनीको हकमा केन्द्रीय कार्याय र १ वटा शाखा कार्यालय खोल्न दिइएको छ। यस्तै, बीमा कम्पनीको हकमा कर्पोरेट कार्यालय र धितो पत्र बोर्ड मात्र खुल्ने व्यवस्था मिलाउन भनिएको छ। निषेधाज्ञामा खुल्ने कार्यालयमा २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गर्ने भनिएको छ।
सार्वजनिक यातायातका साधनको हकमा भने अहिले जारी प्रतिबन्ध कायमै रहने भएको छ। अहिले अत्यावश्यक क्षेत्र र सेवाका सवारी साधन मात्रै सञ्चालन गर्न पाइन्छ।
गृह मन्त्रालयले भने कोरोनाका कारण प्रभावित आर्थिक गतिविधि चलायमान हुने कार्ययोजना बनाइ अगाडि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।
गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरुलाई पठाएको पत्रमा निषेधाज्ञा कार्यान्वयनका सन्दर्भमा हालसम्मको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढाउने सम्बन्धमा पूर्वतयारीमा जुट्न भनिएको छ।
हाल जारी निषेधाज्ञाको कार्यान्वयनको अवस्थाबारे समीक्षा गर्न र फेरि निषेधाज्ञा जारी राख्ने विषयमा निर्णय गर्न आइतबार तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।