काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरानाविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गरेका छन्।
मोड्सा डु मोन्ड फ्रान्ससँग वातावरणीय स्वास्थ्य परियोजना सञ्चालनमार्फत् सहरी स्वास्थ्य केन्द्रलाई सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका रुपमा स्तरोन्नति गर्ने सम्बन्धि सम्झौता कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।
काठमाडौं महानगर क्षेत्रका ३२ स्थानमा मंगलबारबाट खाेप अभियान शुरु भएकाे छ। यद्यपि, ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई शुरु गरिएकाे खोप अभियानमा लक्ष्य अनुरुपको सहभागिता नभएको उनकाे भनाइ छ।
‘काठमाडौंमा स्थायी बसोबास गरेका र काम विशेषले काठमाडौंमा बसोबास गर्दै आएका ६० देखि ६४ बर्ष उमेरसमूहका एक लाख नागरिकलाई यो चरणको खोप अभियानमा सहभागी हुने हाम्रो लक्ष्य हो। तर, हिजो र आजको अवस्थालाई हेर्दा लक्ष्य अनुसारको सहभागिता नदेखिएको हो कि भन्ने लागेको छ,’ उनले भने।
उनले खोप अभियानबारे अझै पनि नागरिकको मन जित्न नसकेका कारण यस्तो भएको हो कि भन्ने आशंकासमेत व्यक्त गरे।
‘पहिलो दिनको सहभागिता लक्ष्य अनुरुप न्युन भएको हो कि भन्ने हामीलाई लागेको छ। हामीले पहिलो दिन १५–२० हजार जतिको सहभागिता होला भन्ने ठानेका थियौँ । तर, ८ हजार ७ सय ४७ जनाले मात्रै खोप लगाएको जानकारी प्राप्त भएको छ,’ उहाँले भन्नुभयो, ‘लक्षित समूहका नागरिकमा अझै पनि खोपबारेको त्रास हट्न नसकेको हो वा हामीले सबै नागरिकको मन जित्न नसकेर हो । सहभागिता न्युन देखियो।’
उनले दोस्रो डोज खोपको सुनिश्चितता नहुने लगायतका त्रासले पनि नागरिक खोप लगाउन डराएका हुन कि भन्ने लागेको बताए । यी सबै त्रासबाट मुक्त गराएर खोप अभियानमा सहभागी गराउन लाग्नुपर्ने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।