जुम्ला- पछिल्लो समयमा जुम्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलन थालेको छ। जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनाकाे परीक्षण गरेकोमा २३ जनालाई कोरोना पोजेटिभ देखिएको हो। गाउँमा रुघाखोकी लागेपछि कोभिड परीक्षण गरिएको थियो।
जनस्वास्थ्य कार्यालय जुम्ला र तातोपानी गाउँपालिकाको समन्वयमा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले जानकारी दिए।
संक्रमित पुष्टि भएका सबैजनालाई राँका गाउँकै विद्यालयमा आइसोलेसन बनाएर राख्ने तयारी गरिएको उनले बताए। गाउँमा यतिधेरै संक्रमित भेटिएपछि त्रास फैलिएको छ।
यसअघि सोही गाउँपालिका– ६ रावतवाडा गाउँ १३६ जनालाई कोरोना परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको थियो। उनीहरुलाई लाम्रा विद्यालयको आइसोलेसन र कोभिड अस्थायी अस्पतालमा राखिएको तातोापनी गाउँपालिका स्वास्थ्य संयोजक चौलागाई बताउँछन्।
उनका अनुसार २४ जना संक्रमित होमआइसोलेसनमा बसेका छन्। अहिले तातोपानी गाउँपालिकामा सक्रिय संक्रमित ७० जना छन्। गाउँमा लापरबाहीले संक्रमण बढेको हो। ग्रामीण क्षेत्रमा कोभिड संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन। घरबाहिर निस्कँदा मास्कको प्रयोग हुँदैन। घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैन।
खेतीकिसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको हुँदैन। जताततै भिडभाड र लापारबाही बढिरहेको छ। गाउँमा चरम लापरबाही बढेको स्थानीय बताउँछन्।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पीसीआर परीक्षण गर्न जाँदा कोरोना जचाउन मान्दैनन्। कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर गइसकेका छन्।
‘गाउँमा रोपाइँ चलेको छ। चोपाइ भइरहेको छ। गोडमेल भइरहेको छ। सरकारी विकास भइरहेको छ। न निषेधाज्ञा पालना गरिएको छ, नत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नै,’ सन्देशले भने, ‘गाउँमा केवल लापरबाही बढिरहेको छ। लापारबाहीका कारण कोरोना फैलदोँ अवस्थामा छन्। कोरोनाको उच्च जोखिममा गाउँ नै छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।