काठमाडौं– कोरोना भाइरस संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा विभिन्न उपकरणसहितका स्वास्थ्य सामग्री पठाएको छ।
मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने भनेर ४ प्रकारका उपकरण तथा स्वास्थ्य सामग्री पठाएको हो।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले एन्टिजेन किट, अक्सजिन कन्सन्ट्रेटर, अक्सिजन सिलिण्डर तथा भेन्टिलेटर पठाएको हो।
विभागका अनुसार देशभरका विभिन्न अस्पतालहरुमा १६ लाख १९ हजार ७५० थान एन्टिजेन किट पठाइएको छ। यस्तै, ९७० वटा अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका अक्सिजन सिलिण्डर ५ हजार १२ थान, ४६ लिटरका अक्सिजन सिलिण्डर २०२, ४० लिटर अक्सिजन ग्यास सिलिण्डर ३२९ वटा पठाइएको विभागले जानकारी दिएको छ।
यस्तै , देशभरका ३४ वटा अस्पताल तथा स्वास्थसंस्थामा गरी ९५ वटा भेन्टिलेटर पठाइएको विभागले जानकारी दिएको छ। विभागले अहिलेसम्म सबैभन्दा बढी वीर अस्पताल र शुक्रराज अस्पतालमा ११/११ वटा गरी २२ वटा भेन्टिलेटर पठाइएको जनाएको छ।
सशस्त्र प्रहरी अस्पताल बलम्बुले ४ वटा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले २ वटा, भक्तपुर क्यान्सर अस्पतालले १ वटा, भक्तपुर अस्पतालले १ वटा र भरतपुर अस्पताल चितवनले ३ वटा भेन्टिलेटर पाएका छन्।
यस्तै, भेरी अस्पतालले ५, डडेल्धुरा अस्पतालले १, धौलागिरी अस्पतालले २, धुलीखेल अस्पतालले ४, जीपी कोइराला अस्पतालले २, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३, कान्ती बाल अस्पतालले १, कर्णाली प्रदेश अस्पतालले २, कोशी अस्पताले २, लुम्बिनी प्रदेश अस्पतालले २, महाकाली अस्पतालले ३, मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले ३, मेची अस्पतालले १, नारायणी अस्पतालले ५ वटा भेन्टिलेटर प्राप्त गरेका विभागले जानकारी दिएको छ।
राष्ट्रिय ट्रमा सेन्टरले ३, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले १, पाटन अस्पतालले ३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १, पृथ्वीचन्द्र अस्पताल नवलपरासीले १, प्रदेश स्वास्थ्य सामग्री व्यवस्थापन केन्द्र बुटवलले २, प्रदेश अस्पताल जनकपुरले २, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १, राप्ती प्रदेश अस्पतालले २, सेती प्रदेश अस्पतालले ३, वीरेन्द्र सैनिक अस्पतालले २ र त्रिवि शिक्षण अस्पतालले ५ वटा भेन्टिलेटर विभागबाट प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।