काठमाडौं- नेकपा (एमाले)ले सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। एमालेले चिनियाँ कम्युनिष्ट पार्टीले कोभिड-१९ नियन्त्रण र रोकथामको लागि सद्भावस्वरुप पठाएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको हो।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीबाट पाएको हाइड्रोजन अक्सिजन नेबुलाइजर ३० थान र एन ९५ मास्क एक लाख थान स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महासचिव पोखरेलले कोरोना भाइरसलाई लिएर कुनै राजनीति गर्ने विषय नभएको र यसलाई साझा समस्या ठानेर समाधान गर्न सबै एकतावद्ध हुनुपर्ने बताए।
सोही उद्देश्यलाई ध्यानमा राखेर राज्यको आधिकारिक निकायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको उनको भनाइ छ। मन्त्रालयमार्फत् आवश्यक ठाउँमा स्वास्थ्य सामग्री उपलब्ध गराइने उनले विश्वास व्यक्त गरे।
स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री तामाङले प्राप्त सामग्री सरकारको मापदण्डभित्र रहेर आवश्यक ठाउँमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री तामाङले कोरोना विरुद्धको खोप सबै नागरिकलाई पुर्याउनका निम्ति सरकार प्रयासरत रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।