काठमाडौं- जर्मनीले नेपाललाई कोभिड-१९ विरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
मंगलबार नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई सामग्री हस्तान्तरण गरे।
जर्मनीले प्रदान गरेको स्वास्थ्य सामग्रीहरुमा ११२ थान भेन्टीलेटर, २० लाख ६८ हजार ५०० थान के ९५ मास्क, २९ हजार थान पल्स अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेसन सेन्टर टेन्ट, ४०० गमबुट र २५ हजार लिटर हातमा प्रयोग हुने किटनाशक औषधिहरु रहेको नेपालका लागि जर्मनी राजदूतावासले जनाएको छ।
जर्मनीको सहयोग लिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री तामाङले जर्मन सरकार नेपालको लामो समयदेखिको विकास साझेदार र असल छिमेकी रहेको उल्लेख गर्दै ठूलो परिणाममा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरे।
सहयोग हस्तान्तरण गर्दै नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफरले जर्मनीले प्रदान गरेको सहयोग युरोपेली प्रयासको एक हिस्सा भएको बताए। उनले वास्तविक रुपमा आवश्यक परेको ठाउँमा उक्त स्वास्थ्य सामग्रीहरु पुग्नेमा विश्वास पनि व्यक्त गरे।
राजदुत सेफरले इयुले ९० देशहरुमा २४ करोड खोप निकासा गरिसकेको जानकारी दिँदै कम आय भएका देशहरुलाई कम मूल्यमा कोभिड विरुद्धको खोप पुर्याउने प्रतिबद्धता जनाएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।