काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन्।
मंगलबार बागमती प्रदेश स्काउट अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनको लागि सरकारले प्रयास गरिरहेको बताएका हुन्।
खोप ल्याउने क्रम जारी रहेको भन्दै उनले उमेर समूह अनुसार क्रमशः खोप दिँदै जाने बताए। दोस्रो मात्रा लगाउन बाँकी रहेकाहरुको हकमा पनि छिट्टै खोप ल्याएर दिइने उनको भनाइ थियो।
‘हामी खोप छिट्टै ल्याउँदैछौ, त्यसका लागि हामीले धेरै पहलकदमी गरिरहेको छौँ। क्रमैसँग सबैलाई खोप लगाइनेछ,’ उनले भने, ‘नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु। खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ। बाँकी रहेकाहरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिबद्ध छौँ।’
बागमती प्रदेश स्काउटले बागमती प्रदेशभित्रका जिल्लाहरुमा स्थानीय स्काउट कार्यक्रम अन्र्तगत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि सुरुवात गरेको छ।
कोभिड–१९बाट बच्नका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सूचना तथा जानकारीहरु बजाउँदै टोल–टोलमा पुग्ने गोकर्णेश्वर नगरपालिकाका नेपाल स्काउट संयोजक सुदर्शन बजगाँईले जानकारी दिए।
आगमी १५ दिनसम्म कार्यक्रम सञ्चालन गर्ने र प्रभावकारिता हेरेर थप गर्ने स्काउटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।