रोल्पा- नेपाली कांग्रेस रोल्पाले कोरोना संक्रमित बिरामीहरुलाई निःशुल्क आहारा खुवाउन सुरु गरेको छ। कोरोना संक्रमितहरुको पौष्टिक खानाका लागि नेपाली कांग्रेस रोल्पाले कोष स्थापना गरेर काम थालेको हो। कोषमा कांग्रेस रोल्पाले ५० हजार, सभापति अमरसिंह पुनले २५ हजार तथा अन्य नेता/कार्यकर्ताले समेत रकम जम्मा गरेको बताइएको छ।
उक्त कार्यका लागि मासिक १ लाख खर्च लाग्ने अनुमान गरिएको नेपाली कांग्रेस रोल्पाका प्रवक्ता कविता उपाध्यायले बताइन्। आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई यो कार्यक्रम निकै फलदायी हुने विश्वास लिइएको उपाध्यायले बताइन्।
‘रोल्पा अस्पतालका डाक्टरहरुसँगको सल्लाह बमोजिम एक हप्ताका लागि पौष्टिक खानाको सूची तयार गरेका छौं। सोही सूची अनुसारको पौष्टिक खाना खुवाइन्छ’, कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने।
यसैबीच, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि रोल्पाको थवाङमा निःशुल्क खाजा र खाना खुवाउने कार्यको थालनी गरेको छ। नेकपाको युवा संगठन नेपाल थवाङको आयोजनामा निःशुल्क खाजा र खाना खुवाउन थालिएको हो।
थवाङ गाउँपालिकाको आइसोलेसनमा बसेका कोरोना संक्रमित तथा तिनका कुरुवाहरुलाई खाजा र खाना खुवाउन थालिएको गोविन विकले जानकारी दिए। आइसोलेसनमा खाजा र खानाको व्यवस्था सरकारी निकायबाट नभएपछि आफूहको पहलमा गरिएको विकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।