काठमाडौं– आजदेखि देशभर कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउन थालिने भएको छ। चीन सरकारद्वारा अनुदानमा उपलब्ध कोरोनाविरुद्धको खोप मंगलबारदेखि लगाउन सुरु गरिने स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ।
देशव्यापी रूपमा स्थानीय तहको समन्वयमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले जानकारी दिए।
काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई र काठमाडौंबाहिर ६२ देखि ६४ उमेरका व्यक्तिलाई खोप लगाइने डा. गौतमको भनाइ छ।
तिब्बतसँग सीमा जोडिएका हिमाली जिल्लाका पालिकामा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने उनले बताए।
खोप लगाउन जाँदा उमेर खुल्ने प्रमाणपत्र लिएर जानसमेत उनले आग्रह गरेका छन्। यो पटक लक्षित समूहबाहेक अन्य व्यक्ति तथा समूहलाई प्राथमिकताका आधारमा खोप नलगाइने उनको भनाइ छ।
यसैबीच, काठमाडौँ महानगरपालिकाले पनि मंगलबारदेखि ३२ वटै वडामा कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन गरी खोपको पहिलो मात्रा दिने तयारी गरेको छ।
महानगरपालिकाले तय गरेका खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिने गरी तयारी गरिएको हो।
ती केन्द्रमा जेठ २५ देखि २९ सम्म सञ्चालन हुने खोप कार्यक्रममा जेठको क्रमशः २५ गते ६४ वर्ष, २६ गते ६३, २७ गते ६२, २८ गते ६१ र २९ गते ६० वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य विभागले जनाएको छ।
खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज वा सम्बन्धित वडाको सिफारिस लिएर जानुपर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।