काठमाडौं– सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा न्यूनीकरणका लागि जारी निषेधाज्ञाको समयमा पनि अनलाइनबाट हुने कारोबार (खरिदबिक्री तथा होम डेलिभरीको सेवा)लाई नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
निकेत अग्रवाल समेतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको सोमबारको संयुक्त इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
अहिलेको अवस्थामा बजारमा भिड–भाड कम गरी सकेकसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरिद बिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्नमा रोक लगाउन नहुने सर्वोच्चको ठहर छ।
‘...स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्ड पालना गरी अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको ई–कमर्सको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू, नगराउनू...’ सर्वोच्चको आदेशमा भनिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।