काठमाडाैं- लण्डनस्थित नेपाली दूतावासले आधारहिन समाचार प्रकाशन गरेको र त्यसलाई सच्याउन आग्रह गर्दै ‘डेली मेल’लाई पत्र पठाएकाे छ।
बिहीबार (जुन ३)को संस्करणमा बेलायती अखवार ‘डेली मेल’ले ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ शीर्षकमा समाचार प्रकाशन गरेकाे थियाे।
दूतावासले उक्त समाचारप्रति आफ्नाे ध्यानकर्षण भएकाे जनाउँदै आधारहीन भएकाले सच्याउन आग्रह गरिएको जनाएको हो ।
दूतावासले नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेकाे पनि जनाएकाे छ।
'नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) भेरियन्ट फेला परेका छन्, ती दुवैको उत्पत्ति त्यहाँ भएकाे थिएन। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपालमा नयाँ संस्करणको भेरियन्ट उत्पत्ति भएकाे भन्ने समाचारकाे खण्डन गरिरहेको छ,' दूतावासले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।
यता नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको परेकाे र नयाँ भिरियन्ट भने फेला नपरेकाे डब्लुएचओले जनाएकाे छ।
डब्लूएचओले बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरेको छ।
बेलायतमा भेटिएको बी.१.१.७ भेरियन्टको नाम अल्फा हो। दक्षिण अफ्रिकाको बी.१.३५१ को नाम बिटा, भारतको बी.१.६१७.२ भेरियन्टको नाम डेल्टा राखिएको छ। यस्तै भारतमै भेटिएको बी.१.६१७.१ भेरियन्टको नामा काप्पा राखिएको छ।
डेली मेलको समाचारमा वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरिएको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरुलाई सचेत गराएका भनेर लेखिएको छ। भारतमा उत्पत्ति भएको बी.१.१६७ भेरियन्टको नेपालमा दोस्रो लहर फैलिएको र सोही क्रममा नयाँ भेरियन्ट बनेको हुनसक्ने पनि डेली मेलले आफ्नो समाचारमा लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।