काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लाएका कानुन व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पहिलो डोज लगाएका ७५० जना कानुन व्यवसायीलाई दोस्रो डोज लगाउने व्यवस्था मिलाउन भनेको छ।
सर्वाेच्चले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड समेत भएको भन्दै खोप नपाएका कानुन व्यवसायीहरुलाई व्यवस्था गर्न भनेको हो।
अधिवक्ता उमेशप्रसाद यादवले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरकारको नाममा यस्तो आदेश गरेको हो। खोप लगाउन ढिलाई भएको दाबी गर्दै उनले दायर गरेको निवेदनमा सर्वोच्चले मंगलबार गते यस्तो आदेश जारी गरेको हो।
पहिलो डोज लगाएर दोस्रो लगाउन नपाउँदा त्यसको प्रभावकारिता समेत नहुने भएको जिकीर गर्दै यादवले रिट दायर गरेका थिए। सर्वोच्चले कानुन व्यवसायी व्यक्तिको न्याय सम्बन्धी हक प्रचलनको लागि प्रतिनिधित्व गर्ने भएकाले खोपमा प्राथमिकता दिन समेत भनेको छ।
सर्वोच्चले खोप लगाउने सम्बन्धी प्राथमिकताको बारेमा लिखित जवाफ पेश गर्न समेत भनेको छ। गत फागुन र चैतमा ७५० जना कानुन व्यवसायीले कोरोनाको खोपको पहिलो डोज लगाएका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।