काठमाडौं– बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई फौजदारी मुद्दा लगाउन सिफारिस गरिएको छ। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटना छानबिन गर्न गठित समितिले आक्रमणकारीलाई फौजदारी कसूर गरेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ।
गत बिहीबार भेरी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएपछि आफन्तले आईसीयूमा खटिएका चिकित्सक तथा नर्सलाई हातपात गर्नुका साथै घाँटी थिचेका थिए।
समितिले गत सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन बुधबार बाँकेमा सार्वजनिक गरेको बताइएको छ।
समितिको प्रतिवेदनबारे प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने,‘समितिको पहिलो सिफारिसमा दोषीलाई कारबाही हुनुपर्ने भनिएको छ। साथै अस्पतालको व्यवस्थापन सुधारका कुरा पनि प्रतिवेदनमा आएको छ।’
प्रतिवेदनमा आफन्तको मृत्यु भएपछि 'आवेगमा आएर घटना भएको भन्ने' भन्ने शब्दावली उल्लेख भएपनि दोषीलाई फौजदारी अभियोगको सिफारिस गरिएको बताए।
‘दोषीलाई कानुनी कारबाही हुन्छ। कानुनी कारबाहीको दायरामा ल्याइसकेका छौं। अदालतले म्याद थप समेत गरिसकेको अवस्था छ। अनुसन्धानका लागि प्रहरीमा छन्,’ प्रजिअ गेलालले भने, ‘भोलिका दिनमा यस्ता घटना नदोहोरिउन् भन्नका लागि अस्पताल व्यवस्थापन गर्नुपर्ने, जिल्ला प्रशासन, प्रहरी प्रशासनले गर्नुपर्ने कुराहरु छ त्यसलाई सुर्धाछौँ। सुरक्षा व्यवस्था बढाउन पनि सिफारिस भएको त्यो पनि हामी हेर्छौं।’
दोषीलाई कारबाहीका साथै स्वास्थ्य ऐनमा परिमार्जन, अस्पतालको कमजोरी सुधार्न पर्ने विषय प्रतिवेदनमा आएको उनले बताए।
अस्पतालको आन्तरिक सुरक्षाका विषयहरु, जस्तै कुरुवालाई पास दिने, आईसीयूमा कुरुवालाई जान दिने/नदिने, स्वास्थ्यका मापदण्ड पालना गर्ने लगायतका विषय पनि प्रतिवेदनमा उल्लेख भएको प्रजिअ गेलालले जानकारी दिए।
आफू एमालेको नेता भएको भन्दै उनीहरुले राजनीतिक पावरको बलमा स्वास्थ्यकर्मीसाग मृत्युको बदला लिने धम्की दिएका थिए।
आईसीयूमा खटिएका नर्सको घाँटी थिच्न आएपछि नर्स र डाक्टरले ट्वाइलेको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए।
उक्त घटना भएको भोलिपल्ट घटनाका सम्बन्धनमा छानबिन गरी तिनदिन भित्र प्रतिवेदन बुझाउन सहयक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको संयोकत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेका नायव प्रहरी उपरिक्षक, अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ, बाँके नर्सिङ संघकी अध्यक्ष लक्ष्मी केसी ओली, चिकित्सक संघका अध्यक्ष डाक्टर विनोद कर्ण, धनराम ओली, डाक्टर रमण किदवाई र सरकारी वकिल कार्यालयको तर्फबाट शान्तिविक्रम शाह सदस्य रहेको समिति गठन भएको थियो।
भेरीमा भएको सो घटनापछि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले दोषीलाई कडा कारबाहीको माग राख्दै स्वास्थ्य संस्था सुरक्षा ऐन र जेल विथआउट वेलको व्यवस्था गर्नुपर्ने माग गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।