काठमाडौं– कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा पुनः जेठ ३१ गतेसम्मका लागि थपिने भएको छ।
काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ ३१ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो।
यद्यपि निषेधका प्रावधानहरुको केही परिमार्जन गरी खुकुलो बनाउने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले नेपाल लाइभलाई जानकारी दिए।
‘निषेधाज्ञालाई जेठ ३१ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ,’ भक्तपुरका प्रजिअ भट्टराईले भने, ‘निषेधका प्रवाधानहरुमा भने केही परिमार्जन गरी खुकुलो बनाउने निर्णय भएको छ।’
प्रजिअ भट्टराईका अनुसार अबको निषेधाज्ञामा खाद्यान्न तथा किसाना पसलहरु समेत बिहान ९ बजेसम्म खोल्न दिइने छ। यस्तै, पुस्तक पसलहरु पनि बिहान ९ बजेसम्म खोल्न पाइने छ।
विकास निर्माणसँग सम्बन्धित सामग्रीहरुको ढुवानी गर्ने गाडीलाई पनि राति सञ्चालन गर्न दिने निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए।
अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी दिउँसो निर्माण कार्य समेत गर्न दिइने निर्णय भएको भट्टराईले जानकारी दिए। निर्माण क्षेत्रका मजदुरलाई कार्यस्थल वा अन्य ठाउँमा छुट्टै आइसोलेसन बनाएर राख्नुपर्ने छ।
कोरोना संक्रमणको दोस्रो लहर बढेपछि काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो। यस्तै, जेठ १४ गतेदेखि किराना पसलसमेत खोल्न नपाइने गरी १ हप्ताको लागि निषेधाज्ञा थपिएको थियो।
जेठ १४ गते थपिएको निषेधाज्ञा भने बिहीबार (जेठ २० गते) राति १२ बजेदेखि सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।