काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार तथा लागत रकमको शीषर्क सहितको मूल्य सूची आफ्नो वेवसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।
मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मंगलबार एक सूचना प्रकाशन गरि सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षकसमेत उल्लेख भएको मूल्य सूची वेवसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो।
उक्त विवरण वेवसाइट तथा सूचना पाटीमा राखी सो जानकारी स्वास्थ्य संस्था ईजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन समेत मन्त्रालयले अनुरोध गरेको छ।
कोरोना महामारीको विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचार वापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको वन्दोवस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य समग्री खरिद गर्न लगाएको गुनासो प्रधानमन्त्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, हेलो सरकार र स्वास्थ्य मन्त्रालयमा समेत आएको जनाइएको छ।
बिरामीहरुले यस्तो गुनासो गरेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उपचार सेवा तथा शुल्कको विवरण वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।