मुगु– कोरोना भाइरसको संक्रमणबाट मुगु जिल्लामा पहिलोपटक १ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा ७० वर्षीय वृद्ध छन्।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीका अनुसार कोरोना संक्रमणबाट छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको ज्यान गएको हो।
१ हप्ता अगाडिदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। घरमा नै जडिबुटीको सेवन गरेर बसिरहेका उनको स्वास्थ्यावस्था गम्भीर बनेपछि मंगलबार अस्पताल ल्याउन लागिएको थियो।
अस्पताल ल्याउनेक्रममा मंगलबार बाटोमा नै वृद्धको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी नेपालीले जानकारी दिए।
मृत्युपछि गरिएको एन्टिजिन परीक्षणका क्रममा कोरोना संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए।
गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन। मुगुमा हालसम्म २९४ सङ्क्रमित रहेका जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।