काठमाडौं– सरकारको निर्णयानुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको छ।
बिहीबार (जेठ १३ गते) बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो । यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने छ।
जसअनुसार अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन्।
राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने भएको छ। नेपाल एयरलाइन्सले हरेक हप्ताको सोमबार काठमाडौं– दोहा(कतार)– काठमाडौं उडान भर्ने छ। यस्तै, हरेक हप्ताको बुधबार काठमाडौं–दिल्ली (भारत)– काठमाडौं उडान भर्ने छ।
यस्तै, टर्किस एयरलाइन्सले हरेक बिहीबार इस्तानबुल–काठमाडौं– इस्तानबुल उडान भर्ने छ। कतार एयरवेजले हरेक हप्ताको सोमबार दोहा– काठमाडौं– दोहा उडान भर्ने छ।
एयर इन्डियाले हरेक हप्ताको शुक्रबार दिल्ली– काठमाडौं– दिल्ली उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिए पछि सरकारले वैशाख तेस्रो सातादेखि हवाई उाडनहरु रोकेको थियो । यसबीचमा नेपाल एयरलाइन्स र एयर इन्डियाले नेपाल–भारतबीच हप्तामा एक–एकवटा उडान भर्दै आएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।