काठमाडाैं- कोरोना संक्रमणका कारण गत २४ घण्टाभित्र नेपालमा ६८ जनाको मृत्यु भएको छ। यो संख्या २३ दिनयताकै सबैभन्दा न्यून हो।
कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेसँगै नेपालमा दैनिक २०० जनाको हाराहारीमा मृत्यु हुँदै आएको थियो। तर, पछिल्ला दिनहरुमा मृत्यु संख्या केही घट्दै आएको छ। आज पहिलोपटक वैशाख २६ भन्दा कमको मृत्यु भएको हो। त्यस दिन (वैशाख २६) ८८ जनाको मृत्यु भएको थियो। त्यसयता दैनिक १०० जनाभन्दा बढीको मृत्यु हुँदै एकै दिन २४६ सम्म पुगेको थियो। जेठ गते अहिलेसम्मकै सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको तथ्यांक छ।
वैशाख २६ पछाडि पहिलोपटक जेठ १४ मा मृतक संख्या ९६ मा झरेको थियो। तर १६ जेठमा पुन: ११६ जनाको मृत्यु हुँदा जेठ १६ र १७ मा क्रमश: १०९ र ११४ जनाको मृत्यु भएकोमा आज उक्त संख्या घटेर ६८ मा आइपुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार वैशाख १ देखि जेठ १८ सम्म चार हजार ३९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या सात हजार ४५४ पुगेको छ।
पछिल्लो समय दैनिक संक्रमित हुनेको संख्यासमेत केही कम देखिन थालेको छ। यद्यपि, संक्रमणको जोखिम कम भइनसकेको मन्त्रालयको भनाइ छ।
स्वास्थ्यविदहरुले संक्रमण अझै उच्च विन्दुमा पग्ने र तेस्रो लहरसमेत आउन सक्ने भन्दै सचेत गराउँदै आएका छन्। सरकारले कोरोना संक्रमणको 'चेन ब्रेक' गर्न भन्दै वैशाख १६ देखि काठमाडाैं उपत्यकासहित विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको थियो, जुन अद्यापि कायम छ। अहिले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।
विज्ञहरुले संक्रमित र मृत्यु संख्या घट्दै जानु सकारात्मक भए पनि अझै सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य मन्त्रालयले पनि कोभिड नियन्त्रण तथा रोकथामका लागि जारी गरिएका स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्न अपिल गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।