काठमाडाैं- नेपाल उद्योग वाणिज्य महासंघले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञाले ७० प्रतिशत उद्योगमा असर परेको जनाएको छ।
कोभिडको दोस्रो लहर तीव्र बनेपछि संक्रमण नियन्त्रण गर्न सरकारले वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लामा जारी गरेको निशेधाज्ञा अहिले एक/दुई वटाबाहेक सबै जिल्लामा लागू गरिएको छ।
महासंघले आफ्ना सातवटै प्रदेश शाखाका पदाधिकारीहरूसँग जारी निशेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन संवाद गर्दा मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइएको जनाएको छ। प्रदेशगतरूपमा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकी प्रदेशमा ७५ प्रतिशत, बागमती प्रदेशमा ६९ प्रतिशत, प्रदेश २ मा ६९ प्रतिशत, लुम्बिनी प्रदेशमा ६४.५ प्रतिशत, सुदूरपश्चिममा ५७.७∞ प्रतिशत र कर्णाली प्रदेशमा ४५.५० प्रतिशत उद्योग व्यवसायमा असर पर्न गएको महासंघले जनाएको छ।
'खाद्यान्न, स्वास्थ्यसम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषिबाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन्। पसलहरू विहान तीन-चार घण्टामात्र खुल्ने गरेका छन्। उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन्। यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको छ,' महासंघले भनेको छ।
कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायी पनि परेको महासंघले जनाएको छ। 'कतिपय उद्योगी व्यवसायीको कोभिडकै कारण ज्यानसमेत गइसकेको छ। संक्रमित हुनेको संख्या पनि निकै ठूलो हुन सक्छ। आफ्नो ज्यानको समेत परवाह नगरी अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको छ,' महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोभिडको दोस्रो लहरको संक्रमण विस्तार भएसँगै महासंघले आफ्नो सिंगो सञ्जाललाई आ-आफ्नो क्षेत्र र तहबाट सहयोगमा उत्रन अपिल गरेको थियो। सोहीअनुसार महासंघको सञ्जाल यतिखेर परिचालित भएको जनाएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।